नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित एक किशोर पक्राउ
२०८२ भाद्र १३ गते शुक्रबार, काठमाडौं।
चन्द्रागिरी नगरपालिका-२, नागढुङ्गाबाट बिहीबार बिहान नियन्त्रित लागूऔषधसहित एक १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। सप्तरीको राजबिराज नगरपालिका-११ बस्ने ती किशोरको साथबाट ३९० एम्पुल डाइजेपाम, ३९० एम्पुल फेनारगन र ३९० एम्पुल बुप्रेनोर्फिन बरामद भएको छ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७६२० नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा ती किशोरलाई फेला पारेको हो। बसमा सवार रहेका उनको झोला खानतलासी गर्दा उल्लेखित परिमाणको लागूऔषध फेला परेको थियो।
पक्राउ परेका किशोरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।