स्लोभाकिया पठाउने प्रलोभनमा ५ लाखभन्दा बढी ठगी गरेको आरोपमा एक पक्राउ
२०८२ भाद्र १२ गते बिहिबार, काठमाडौं।
वैदेशिक रोजगारीको बहानामा ठगी गरेको आरोपमा ललितपुरबाट एक जना पक्राउ परेका छन्। ललितपुर महानगरपालिका-१२ निवासी ३१ वर्षीय छबिन्द्र हुमागाईलाई आकर्षक तलबको प्रलोभन देखाई स्लोभाकिया पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा मंगलबार प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार, हुमागाईले तीन जना पीडितबाट ५ लाख ३१ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो। सोही उजुरीका आधारमा खटिएको प्रहरी टोलीले उनलाई ललितपुर महानगरपालिका-१२ बाट पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानबाट हुमागाईले पीडितहरूलाई स्लोभाकियामा राम्रो आम्दानी हुने कामको लोभ देखाएर रकम असुलेको खुल्न आएको छ।
पक्राउ परेका हुमागाईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।