ब्रह्माकुमारीद्वारा राष्ट्रव्यापी रक्तदान कार्यक्रम सञ्चालन: सयौँको सहभागिता, १ लाख पिन्ट रगत संकलनको लक्ष्य
२०८२ भदौ ११ गते बुधबार, काठमाडौं।
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले राजयोगिनी दादी प्रकाशमणिजीको १८ औँ पुण्य स्मृति र भातृत्व दिवसको अवसरमा नेपालसहित विश्वभर १ सय घण्टा रक्तदान कार्यक्रम सञ्चालन गरिरहेको छ। यसै सन्दर्भमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र, दधिकोटले पनि भव्य रक्तदान कार्यक्रम आयोजना गरेको छ, जसमा सयौँ रक्तदाताको सहभागिता रहेको छ।
कार्यक्रमको पहिलो चरण गत शुक्रबार सूर्यविनायक नगरपालिका भक्तपुरको वडा नं ३, नयाँ बस्तिमा सम्पन्न भयो। ब्रह्माकुमारी रुजिलाको अध्यक्षतामा आयोजित यस कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गर्नुभएको थियो। २ र ३ नं. वडाका वडा अध्यक्ष, टोल सुधार समितिका पदाधिकारी तथा नयाँ बस्तिका बासिन्दाको उपस्थितिमा १७ जनाले रक्तदान गरेका थिए।
शनिबार दधिकोटमा रहेको रेन्बो सेकेन्डरी स्कूलमा बिहान ८ बजेदेखि र उपसेवा केन्द्रको आफ्नै भवन हर्षाचोकमा बिहान १० बजेदेखि रक्तदान कार्यक्रम सञ्चालन भयो। दधिकोट ४ का वडा अध्यक्षको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा १३० जनाभन्दा बढी रक्तदाताले रक्तदान गरे।
आज आइतबार गुण्डुमा पनि रक्तदान कार्यक्रम सम्पन्न गर्ने तयारी रहेको उपसेवा केन्द्रले जनाएको छ। यी तीनवटै स्थानमा गरी सयौँ रक्तदाताले रक्तदान गरिसकेका छन्।
कार्यक्रममा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रकी प्रमुख सञ्चालिका ब्रह्माकुमारी रुजिलाले ब्रह्माकुमारी राजयोग ईश्वरीय विश्वविद्यालय एक अन्तर्राष्ट्रिय संस्थाका बारेमा प्रकाश पार्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रदेश स्वास्थ्य मन्त्री किरण थापाले ब्रह्माकुमारी राजयोगले मानव जातिमा पुर्याएको सेवा र सहयोगको प्रशंसा गर्दै प्रदेश सरकारले अब हरेक कार्यक्रममा यस संस्थासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
भक्तपुर दधिकोटवासीको व्यापक उपस्थिति रहेको यस कार्यक्रमलाई रेडक्रस लगायत विभिन्न संघसंस्थाहरूले पनि सहयोग गरेका थिए। ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले नेपालभरबाट १ लाख पिन्टभन्दा बढी रगत संकलन गरी बिरामीहरूलाई उपलब्ध गराउने लक्ष्य राखेको उपसेवा केन्द्रकी सञ्चालिका ब्रह्माकुमारी रुजिलाले जानकारी दिनुभयो।