हेटौंडामा ठूलो परिमाणमा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ
२०८२ भदौ ०८ गते आईतबार, काठमाडौं ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, बहराईचका ३५ वर्षीय किस्मत अलि र २८ वर्षीय शाहरूख अलि रहेका छन्। प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले रक्सौलबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको वीआर ०१ पिबी १८०२ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो।
प्रहरीले गाडीमा लुकाएर ल्याइएको अवस्थामा डाइजेपाम, नोर्फिन र फेनारगन क्रमशः १ हजार ९ सय ५० एम्पुल तथा २४० ट्याब्लेट ट्रामाडोल फेला पारेको थियो। लागूऔषध फेला परेपछि प्रहरीले सुमोका चालक किस्मत र सवार शाहरूखलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।