कोरिया पठाउने सपना देखाएर करोड ठगी गर्ने महिला पक्राउ
२०८२ भाद्र ०५ गते बिहिबार, काठमाडौं।
वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पठाइदिन्छु भनी प्रलोभन देखाएर करोडौं रकम ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताप्लेजुङकी ३८ वर्षीया साहारा सुब्बा (थेवे) लाई ललितपुरको हरिसिद्धिबाट बुधबार पक्राउ गरेको हो।
प्रहरीका अनुसार, हाल काठमाडौंको नक्सालमा बस्दै आएकी सुब्बाले कोरियामा आकर्षक रोजगारीको अवसर रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पारेकी थिइन्। प्रारम्भिक अनुसन्धानको क्रममा उनले हालसम्म ९ जना पीडितबाट कुल १ करोड ८ लाख ३० हजार रुपैयाँ ठगी गरेको खुलेको छ। पीडितहरूले रोजगारीका लागि प्रक्रिया अघि बढाउने नाममा उनलाई पटक-पटक गरी उक्त रकम बुझाएका थिए।
लामो समयसम्म प्रक्रिया अघि नबढेपछि ठगिएको आशंकामा पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको विशेष टोलीले सुब्बालाई ललितपुर महानगरपालिका-२८, हरिसिद्धिबाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेकी सुब्बालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।