टिकटकमार्फत विश्वमा नेपालको पर्यटन प्रवर्द्धन, पर्यटन बोर्ड र टिकटकबीच साझेदारी
२०८२ भदौ ०३ गते मंगलबार, काठमाडौं।
विश्वव्यापी रूपमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र लोकप्रिय सामाजिक सञ्जाल टिकटकबीच साझेदारी भएको छ। यस सहकार्य अन्तर्गत ‘#लाइफटाइमएक्सपिरियन्सेस’ नामक विशेष अभियान सुरु गरिएको छ, जसले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र परम्परालाई छोटा भिडियोमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले यो सहकार्यलाई ‘नेपाललाई संसारसँग जोड्ने पुल’ को संज्ञा दिँदै यसले नेपालको अनुपम सौन्दर्य र आतिथ्यलाई करोडौं दर्शकसम्म पुर्याउने विश्वास व्यक्त गरे।