इन्टरपोलको रेड नोटिसमा रहेका मानव बेचबिखनका अभियुक्त युएईबाट पक्राउ
२०८२ भदौ ०३ गते मंगलबार, काठमाडौं।
मानव बेचबिखन तथा ओसारपसारको गम्भीर मुद्दामा फरार रहेका एक अभियुक्तलाई संयुक्त अरब इमिरेट्स (युएई) बाट पक्राउ गरी नेपाल ल्याइएको छ। इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका रूकुम पश्चिमका कल बहादुर बस्नेतलाई नेपाल प्रहरीले युएई प्रहरीको समन्वयमा पक्राउ गरी सोमबार काठमाडौं ल्याएको हो।
रूकुम पश्चिमको बाफिकोट गाउँपालिका-२ स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिका-४, गाम्चामा बस्दै आएका बस्नेत लामो समयदेखि मानव बेचबिखन मुद्दामा फरार थिए। उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्न नेपाल प्रहरीको आग्रहमा इन्टरपोल महासचिवालयले २०८१ साल पुस ११ गते रेड नोटिस जारी गरेको थियो।
सोही नोटिसको आधारमा खोजतलास गर्ने क्रममा एनसिबि अबुधाबी (युएई) को समन्वयमा बस्नेतलाई युएईमा पक्राउ गरिएको हो। पक्राउ परेका उनलाई आवश्यक कानूनी कारबाही अगाडि बढाउनका लागि मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाइएको प्रहरीले जनाएको छ।