पोखरामा सुनचाँदीको अवैध कारोबार गर्ने ठूलो गिरोह पक्राउ, ५ सय ९ तोला सुन र ५ लाख नगदसहित ११ जना नियन्त्रणमा
२०८२ साउन २५ गते आइतबार, काठमाडौं।
पोखरामा ठूलो परिमाणमा सुन तथा चाँदीको अवैध कारोबारमा संलग्न रहेको एक ठूलो गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा पोखराका विभिन्न स्थानमा छापा मारी एक महिलासहित ११ जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पक्राउ पर्नेमा अधिकांश भारतीय नागरिक छन् जो पोखरामा बसेर अवैध कारोबार सञ्चालन गर्दै आएका थिए। प्रहरीको संयुक्त टोलीले पोखरा महानगरपालिकाका वडा नम्बर २, ३, ४ र ९ का विभिन्न स्थानबाट उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट र एक फरार अभियुक्तको कारखानाबाट गरी कुल ५०९ तोला ४०.३ लाल (करिब ५.९४ किलोग्राम) सुन, ४४४ तोला ७३.९ लाल (करिब ५.१८ किलोग्राम) चाँदी र ५ लाख १४ हजार ६ सय ५५ रुपैयाँ नगद बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा राजेन्द्र जगताप, मनिक लाल आदक, सोमनाथ पाल, तापस सामन्त, प्रोभास माझी, सन्दिप ढाव, दिपक सामन्त, गोविन्दा दिण्डा, असित वर, उज्वल भोमिक र सुनिता पवार रहेका छन्। गिरोहमा संलग्न अर्का व्यक्ति सन्जय ढाव भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।