अमेरिका, क्यानडा पठाउने भन्दै १९ लाखभन्दा बढी ठग्ने ४ जना पक्राउ
२०८२ साउन २३ गते शुक्रबार, काठमाडौं।
वैदेशिक रोजगारीका लागि क्यानडा, अमेरिका, युएई र क्रोएसियाजस्ता आकर्षक देश पठाइदिने प्रलोभन देखाएर १९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँका ५५ वर्षीय योगराज गुरुङ, सर्लाहीकी ३८ वर्षीया खेम कुमारी श्रेष्ठ मानन्धर, बाग्लुङका ५२ वर्षीय रामचन्द्र शर्मा र सुनसरीका ६२ वर्षीय राजु मगर रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, योगराजले क्यानडा पठाउने भन्दै एक पीडितबाट ८ लाख, खेम कुमारीले युएई पठाउने भन्दै चार जना पीडितबाट ५ लाख, रामचन्द्रले क्रोएसिया पठाउने भन्दै एक पीडितबाट २ लाख ३५ हजार र राजुले अमेरिका पठाउने भन्दै एक पीडितबाट ४ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट बुधबार र बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।