१३ आश्विन २०८३, मंगलवार

भारत पुर्‍याएर मृगौला तस्करी गर्ने गिरोहका तीन जना पक्राउ

पीडितलाई ६ लाखको लोभ देखाएर चण्डीगढमा निकालियो मिर्गौला

321

२०८२ साउन २३ गते शुक्रबार, काठमाडौं।

संगठित रूपमा मानव बेचबिखन गरी भारतमा लगेर मृगौला तस्करी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखालका ३५ वर्षीय राजकुमार परियार (कुमार), नुवाकोट बेलकोटगढीका २४ वर्षीय समिर नेपाली र सोही स्थानका ४७ वर्षीय राकेश नेपाली रहेका छन् ।

मानव बेचबिखन ब्यूरोबाट खटिएको टोलीले समिरलाई काठमाडौंको नयाँ बसपार्कबाट र राकेशलाई बानियाँटारबाट बुधबार पक्राउ गरेको हो । गिरोहका अर्का सदस्य राजकुमारलाई भने बिहीबार काभ्रेपलाञ्चोकको पाँचखालबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उक्त गिरोहले एक पीडितलाई ६ लाख रुपैयाँ दिने प्रलोभन देखाई २०८२ जेठमा भारतको चण्डीगढ पुर्‍याएको थियो । पीडितले मृगौला दिन अस्वीकार गरेपछि उनीहरूले डर, त्रास र करकापमा पारी २०८२ साउन ९ गते चण्डीगढस्थित एक क्लिनिकमा उनको देब्रे मृगौला झिकेको खुलेको छ । गिरोहले पीडितबाट निकालिएको मृगौला चर्को मूल्यमा बिक्री गरी गैरकानूनी व्यापार गर्ने गरेको अनुसन्धानबाट देखिएको छ ।

पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत, काठमाडौंबाट संगठित अपराध निवारण ऐन, २०७० बमोजिम थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.