१२ आश्विन २०८३, सोमबार

विवाह र जागिरको प्रलोभनमा भारत लैजान खोज्ने युवक पक्राउ, पीडितको उद्धार

296

२०८२ साउन १९ गते सोमबार, काठमाडौं।

पर्सा प्रहरीले एक युवतीलाई विवाह र जागिरको प्रलोभन देखाई भारततर्फ लैजान खोज्ने एक युवकलाई पक्राउ गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा सखुवा प्रसौनी गाउँपालिका-५ का २५ वर्षीय हिरा माझी पक्राउ परेका हुन् । प्रहरीले पीडित युवतीलाई सकुशल उद्धार समेत गरेको छ ।

प्रहरीका अनुसार, माझीले पीडित युवतीलाई प्रेम सम्बन्धको नाटक गरी ललाईफकाई गरेका थिए । उनले विवाह गर्ने र भारतको दिल्लीमा राम्रो काम लगाइदिने झूटो आश्वासन दिएर काठमाडौंबाट वीरगंज हुँदै भारत लैजान लागेको अनुसन्धानबाट खुलेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले शुक्रबार वीरगंज महानगरपालिका-१६ स्थित शंकराचार्य गेट (नेपाल-भारत सीमा) बाट माझीलाई नियन्त्रणमा लिएको हो । सोही क्रममा प्रहरीले पीडितलाई उद्धार गर्न सफल भएको थियो ।

पक्राउ परेका माझीमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

Leave A Reply

Your email address will not be published.