१३ आश्विन २०८३, मंगलवार

नक्कली सुनलाई सक्कली भन्दै २१ लाख ५० हजार ठग्ने दुई युवक भक्तपुरबाट पक्राउ

190

२०८२ साउन १२ गते सोमबार, काठमाडौं।

नक्कली सुनलाई सक्कली भनी सस्तो मूल्यमा दिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने गिरोहका दुई सदस्यलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालयको टोलीले उनीहरूलाई शुक्रबार भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भई हाल मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने २८ वर्षीय बुद्धी बहादुर तामाङ र नुवाकोट घर भई हाल चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने २२ वर्षीय सुमन तामाङ रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूले नक्कली सुन देखाई प्रति तोला केवल १ लाख १० हजार रुपैयाँमा दिने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पार्ने गरेका थिए। यही क्रममा उनीहरूले गत फागुन २५ गते सूर्यविनायक-६ बस्ने ओखलढुङ्गाका एक व्यक्तिलाई इबामोरा चोकमा बोलाई १२ लाख रुपैयाँ ठगी गरेका थिए।

त्यसैगरी, गत जेठ २७ गते भक्तपुरको राधेराधे बस्ने दोलखाका अर्का व्यक्तिलाई पाण्डुबजारमा बोलाई ९ लाख ५० हजार रुपैयाँ लिएर फरार भएका थिए । दुई फरक व्यक्तिबाट गरी उनीहरूले कुल २१ लाख ५० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट खुलेको छ।

पीडितहरूबाट उजुरी परेपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले उनीहरुको पहिचान गरी पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.