१४ आश्विन २०८३, बुधबार

कोशी प्रदेशको तरकारी क्षेत्रलाई समृद्ध बनाउन सार्वजनिक–निजी साझेदारीमा जोड

410

२०८२ साउन ०६ गते मंगलबार, काठमाडौं।

कोशी प्रदेशको तरकारी क्षेत्रको समग्र विकास र किसानको आयआर्जन वृद्धि गर्न सार्वजनिक–निजी साझेदारी र स्थानीय सरकारको सक्रिय भूमिका अपरिहार्य रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन्। स्विस सरकारको सहयोगमा सञ्चालित सहज परियोजनाले विराटनगरमा आयोजना गरेको ‘तरकारी क्षेत्र: सिकाइ आदान–प्रदान’ कार्यक्रममा उनीहरूले यस्तो धारणा राखेका हुन्।

कार्यक्रममा कोशी प्रदेशका विभिन्न पालिका, निजी क्षेत्र र विकास साझेदारहरूले तरकारी उत्पादन, बजारीकरण, प्रशोधन र मूल्य अभिवृद्धिमा हासिल गरेका अनुभव, सफलता र चुनौतीहरू प्रस्तुत गरे।

कार्यक्रमका प्रमुख अतिथि, कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले सहज परियोजनाले कृषि क्षेत्रमा डिजिटलीकरणको लहर ल्याएको बताउनुभयो। उहाँले भन्नुभयो, “सहजले हामीलाई भविष्यको लागि तयार हुन आवश्यक प्राविधिक सहयोग र तालिम दिएको छ, जसले कृषि प्रणालीलाई आधुनिक बनाउन मद्दत गर्नेछ।”

कार्यक्रममा सहज परियोजनाले सिँचाइ र बजार पूर्वाधार जोडेर ५० हजारभन्दा बढी किसानलाई लाभ पुर्‍याएको तथा कोशी प्रदेशमा तरकारी प्रशोधन, ब्रान्डिङ र वित्तीय पहुँचमा महत्त्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिइयो।
कार्यक्रमको प्यानल छलफलमा स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरूले आफ्ना अनुभव सुनाए। रोंग गाउँपालिकाका अध्यक्ष मणि कुमार श्याङबोले आफ्नो पालिकाको गुन्द्रुकलाई ‘आईफोन’ जस्तै प्रतिष्ठित ब्रान्ड बनाउने महत्वाकांक्षी योजना सुनाउँदै भन्नुभयो, “त्यस्तो बजार नबनुन्जेल गाउँपालिकाले किसानलाई अनुदान दिइरहनेछ।” त्यसैगरी, तेह्रथुमस्थित कियाचु कोल्ड स्टोरकी अध्यक्ष टङ्का माया लिम्बूले परियोजनाको सहयोगले बजार पहुँच र आम्दानी बढाउन सहज भएको बताउनुभयो।

कार्यक्रमको समापनमा, सहभागीहरूले आगामी दिनमा समन्वय, स्थानीय सरकारको नेतृत्व र नवीन व्यवसायिक मोडलमार्फत तरकारी क्षेत्रको दिगो विकास सम्भव रहेकोमा साझा मत व्यक्त गरे। स्विस सरकार र नेपाल सरकारको द्विपक्षीय सहज परियोजनालाई Swisscontact र CEAPRED ले संयुक्त रूपमा कार्यान्वयन गर्दै आएका छन्।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.