१४ आश्विन २०८३, बुधबार

आफ्नै प्रेमिकाको हत्या गरी फरार अभियुक्त काभ्रेबाट पक्राउ

311

२०८२ साउन ०५ गते सोमबार, काठमाडौं।

काभ्रेपलाञ्चोक, आफ्नै प्रेमिकाको हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेले रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नं. १३ का ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार, गत आइतबार (श्रावण ४ गते) दिउँसो २ बजे बनेपा नगरपालिका वडा नं. १३ स्थित भगवान थुम्की सामुदायिक जंगलमा एक महिलाको शव फेला परेको थियो। चिलाउनेको रुखको फेदमा पहिचान नखुलेको अवस्थामा शव भेटिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टरसहितको टोली घटनास्थल पुगेको थियो।

अनुसन्धानको क्रममा मृतकको पहिचान चौरीदेउराली गाउँपालिका-९, डाँडाखर्क घर भई हाल बनेपा-९, नयाँबस्ती बस्दै आएकी ३३ वर्षीया शर्मिला उप्रेती रहेको खुलेको थियो। मृतकका बुबा कमल बहादुर उप्रेतीले शवको सनाखत गरेका थिए। शर्मिला गत असार ३२ गतेदेखि हराइरहेको पनि खुल्न आएको छ।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले सुक्ष्म अनुसन्धान अगाडि बढाउँदा हत्यामा सन्तोष सुनारको संलग्नता रहेको तथ्य फेला पारेको थियो। प्रहरीले उनको खोजी गर्ने क्रममा आइतबार राति ११:२० बजे बनेपा नगरपालिका-१०, इट्टाभट्टामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेका अनुसार पक्राउ परेका सुनारलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.