आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ, अनुसन्धान सुरु
२०८२ असार १८ गते बुधवार, काठमाडौं।
रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा एक पुरुषले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका छन्। चौरजहारी नगरपालिका-३ टाटागाउँ बस्ने ३२ वर्षीय चन्द्र बहादुर बुढाथोकीलाई ३० वर्षीया श्रीमती देविका बुढाथोकीको हत्या गरेको अभियोगमा प्रहरीले मंगलबार राति पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चौरजहारीका अनुसार, चन्द्र बहादुरले श्रीमतीमाथि खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीको एक टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घटनास्थलबाटै अभियुक्त चन्द्र बहादुरलाई नियन्त्रणमा लिएको हो।
हत्याको कारण भने अझै खुल्न सकेको छैन। पारिवारिक विवादका कारण घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
पक्राउ परेका बुढाथोकीलाई इलाका प्रहरी कार्यालय चौरजहारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाले स्थानीय स्तरमा त्रासको वातावरण सिर्जना भएको छ।