अमेरिका पठाउने सपना देखाएर ७५ लाख ठगी, रन्जन पाण्डे पक्राउ
२०८२ असार १७ गते मंगलबार, काठमाडौं।
वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाएर ७५ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले चन्द्रागिरी नगरपालिका-७ बस्दै आएका तनहुँ, व्यास नगरपालिका-१२ का ३० वर्षीय रन्जन पाण्डेलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार, पाण्डेले एक पीडितलाई अमेरिकामा राम्रो काम र तलबको आश्वासन दिएर पटक-पटक गरी कुल ७५ लाख ५० हजार रुपैयाँ लिएका थिए। रकम हात पारेपछि उनी सम्पर्कविहीन भएका थिए।
पीडितले आफू ठगिएको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएपछि प्रहरीले पाण्डेको खोजी कार्य तीव्र पारेको थियो। अनुसन्धानका क्रममा प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका-४ बाट पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ।