विराटनगरबाट चोरिएको मोटरसाइकलसहित एक जना पक्राउ
२०८२ असार १३ गते शुक्रबार, काठमाडौं।
विराटनगर, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेलबारी नगरपालिका–६ का ३७ वर्षीय किसन चौधरी रहेका छन्। उनलाई प्रहरीले चोरी भएको मोटरसाइकलसहित बिहीबार साँझ पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार गत जेठ २८ गते विराटनगर महानगरपालिका-२ स्थित हिमालयन बैंक अगाडिबाट को.३९ प ४१५० नम्बरको मोटरसाइकल चोरी भएको थियो। उक्त घटनाको उजुरी परेपछि प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको थियो।
अनुसन्धानका क्रममा खटिएको प्रहरी टोलीले कटहरी गाउँपालिका–१ मा चौधरीले सोही मोटरसाइकल चलाउँदै गरेको अवस्थामा फेला पारेको थियो। तत्कालै मोटरसाइकल नियन्त्रणमा लिई उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत, मोरङबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।