धादिङमा निरन्तर वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द
धादिङ : विगत दुई दिनदेखि निरन्तर भइरहेको भारी वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान अत्यन्त जरुरी सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि पृथ्वी राजमार्ग भई चल्ने सम्पूर्ण सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाइएको जनाएको छ।
नेपाल मौसम विज्ञान विभागले आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमान गरेपछि सम्भावित विपद्जन्य जोखिम र यात्रुको सुरक्षालाई ध्यानमा राख्दै यो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे (गौतम) द्वारा जारी सूचनामा उल्लेख छ।
