४ आश्विन २०८३, आईतवार

डिजिटल रूपान्तरण केवल प्रविधि नभई राष्ट्र निर्माणको परियोजना हो: सञ्चारमन्त्री डा. तिमिल्सिना

5
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालमा डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तारमा मात्र सीमित नगरी विपद् तथा संकटका समयमा समेत नागरिकलाई निरन्तर सेवा दिन सक्ने दिगो एवम् उत्थानशील प्रणालीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। ललितपुरमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
रसुवाको भोटेकोशीमा आएको बाढीले मुलुकको सूचना प्रणाली, सञ्चार सञ्जाल र संस्थागत समन्वयको समेत परीक्षण गरेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले डिजिटल प्रणालीको विश्वसनीयता र संकट प्रतिकार्य क्षमतालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले डिजिटल नेपाल निर्माणका लागि पाँच प्रमुख प्राथमिकताहरू प्रस्तुत गर्नुभयो:
  • सूचना विश्वसनीयता र सार्वजनिक विश्वास: गलत सूचना नियन्त्रण गरी तथ्यपरक र पारदर्शी सूचना प्रणालीको विकास।
  • भरपर्दो र समावेशी कनेक्टिभिटी: ग्रामीण तथा विपद् प्रभावित क्षेत्रका नागरिकसम्म डिजिटल पहुँचको ग्यारेन्टी।
  • अन्तरसञ्चालन क्षमता: सरकारी निकायहरूबीच एकीकृत तथ्याङ्क प्रणाली र अन्तर-निकाय समन्वय।
  • नागरिककेन्द्रित सेवा: प्रविधिलाई नागरिकको जीवन सहज बनाउने माध्यमका रूपमा विकास।
  • एआई र तथ्याङ्क शासन: कृत्रिम बुद्धिमत्ता (एआई) को जिम्मेवार, नैतिक र नागरिक हित अनुकूल प्रयोग।
डिजिटल रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणको साझा परियोजनाका रूपमा अघि बढाउन सरकार, निजी क्षेत्र र प्राज्ञिक समुदायबीच बहुपक्षीय सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

Author

Leave A Reply

Your email address will not be published.