पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट सुझाव संकलन: नैतिक शिक्षा, एआई र सीपमूलक शिक्षामा जोड
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि पाठ्यक्रम विकास केन्द्रले सातै प्रदेशका ४६ केन्द्रमार्फत २५ हजारभन्दा बढी सरोकारवालाबाट सुझाव संकलन गरेको छ। २८ भन्दा बढी जिल्लाका विद्यालय र कक्षाकोठामै पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय तहसँग प्रत्यक्ष अन्तरक्रिया गरी पृष्ठपोषण लिइएको हो।
मुख्य सुझावहरू:
-
विषयवस्तु: नैतिक शिक्षा, संस्कार, कृत्रिम बुद्धिमत्ता (एआई), कोडिङ, जलवायु परिवर्तन, विपद् व्यवस्थापन र उद्यमशीलतालाई पाठ्यक्रममा प्राथमिकता दिनुपर्ने।
-
व्यावहारिक शिक्षा: पाठ्यक्रमलाई चुस्त र व्यावहारिक बनाउँदै ‘बुक फ्री डे’ तथा ‘व्यागलेस डे’ जस्ता अभ्यासलाई प्रवर्द्धन गर्नुपर्ने।
-
क्षमता विकास र समावेशिता: शिक्षकको पेसागत विकास, क्षमता अभिवृद्धि र मूल्याङ्कन प्रणालीमा समावेशिता ल्याउनुपर्ने।
प्राप्त सुझावहरूका साथै विज्ञहरूले तयार पारेका १२ वटा थिमेटिक पेपर र अनुसन्धानका निष्कर्षलाई आधार बनाएर पाठ्यक्रम परिमार्जनको काम अघि बढाइने केन्द्रले जनाएको छ।