६ महिनाभित्र देशभरका सबै निकुञ्जमा ई–टिकेटिङ लागू हुने; शिवपुरी–नागार्जुनबाट परीक्षण सुरु
काठमाडौँ । सरकारले देशभरका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरूमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियान सुरु गरेको छ । यसै क्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलमा काठमाडौँको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ ।
पर्यटकको प्रवेश व्यवस्थालाई सहज, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यले आज (बुधबार) निकुञ्जमा यो सेवाको परीक्षण सुरु गरिएको हो । परीक्षण सफल भएसँगै आगामी हप्तादेखि निकुञ्जका प्रमुख प्रवेशद्वारहरू पानीमुहान र नागार्जुन बाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याइने निकुञ्ज प्रशासनले जनाएको छ ।
छ महिनाभित्र देशैभर विस्तार गरिने
मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै २१ वटा राष्ट्रिय निकुञ्ज, आरक्ष तथा संरक्षण क्षेत्रहरूमा ई–टिकेटिङ प्रणाली लागू गर्ने लक्ष्य राखेको छ । यो प्रणाली लागू भएपछि पर्यटकहरूले लामो समय लाइन बस्नुपर्ने झन्झट अन्त्य हुनेछ भने राजस्व संकलन प्रक्रिया पनि थप पारदर्शी र प्रभावकारी बन्नेछ ।
पूर्वाधार विकासमा मन्त्रालयको सहयोग
यस कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्न मन्त्रालयले आवश्यक पूर्वाधारहरू जस्तै– कम्प्युटर, थर्मल प्रिन्टर र क्यूआर (QR) स्क्यानर लगायतका उपकरणहरू उपलब्ध गराउने भएको छ । विद्युत् र इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोष्टहरूमा पनि क्रमशः यो सेवा विस्तार गरिने योजना रहेको छ ।
मन्त्री चौधरीको भनाइ
ई–टिकेटिङ सेवाको शुभारम्भ गर्दै मन्त्री गिता चौधरीले भन्नुभयो, “हाम्रो लक्ष्य सेवालाई डिजिटल मैत्री बनाउने हो । यो प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया छिटो र व्यवस्थित हुनेछ । यसले राजस्व व्यवस्थापनमा पारदर्शिता ल्याउनुका साथै सेवाग्राहीलाई आधुनिक र सहज सेवाको अनुभूति गराउनेछ ।”
डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै वन तथा वातावरणको क्षेत्रमा गरिएको यो सुरुवातले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र तथ्याङ्क व्यवस्थापनमा समेत सहजता ल्याउने विश्वास गरिएको छ ।