३ आश्विन २०८३, शनिबार

हुलाकबाट १९ जिल्लामा घरमै पुग्न थाले सरकारी कागजात

101

काठमाडौँ, २२ वैशाख । सरकारले सार्वजनिक सेवालाई घरदैलोमै पुर्‍याउने उद्देश्यले १९ जिल्लामा हुलाक सेवामार्फत सरकारी कागजात व्यक्तिको घरमै वितरण गर्न सुरु गरेको छ। शासकीय सुधारको १०० दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई ‘सरकारी कुरियर’ का रूपमा विकास गर्ने लक्ष्यका साथ यो सेवा विस्तार गरिएको हो।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार हालसम्म ६६७ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण भइसकेको छ भने ३ हजारभन्दा बढी राहदानी ढुवानी गरिएको छ। काठमाडौँ, झापा, कास्की, मोरङ, डडेलधुरा लगायतका १९ जिल्लामा यो सेवाका लागि सम्झौता भइसकेको छ।

राहदानीका साथै २६० वटा शैक्षिक प्रमाणपत्र र मोरङ तथा कास्कीमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत घरमै पुर्‍याउन थालिएको छ। विभागले स्वास्थ्य प्रयोगशालाका नमुना र विश्वविद्यालयका शैक्षिक सामग्री ढुवानीको काम समेत सुरु गरिसकेको छ। आगामी दिनमा नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड समेत घरमै पुर्‍याउने र अन्य सरकारी निकायसँग प्रणाली एकीकरण गर्ने तयारी विभागको छ।

Author

Leave A Reply

Your email address will not be published.