वैदेशिक रोजगारीका नाममा करोडौँ ठगी गर्ने ७ जना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभन देखाई करोडौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई बुधबार र बिहीबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सुरज पंधाक लिम्बु, कमल बहादुर पुलामी मगर, बिनोद थापा, सागर शेर्पा, सूर्य प्रसाद कोइराला, प्रल्हाद खत्री र सरोज गौतम रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले जापान, कोरिया, फ्रान्स, अमेरिका र ग्रीस पठाइदिने भन्दै ४५ भन्दा बढी पीडितहरूबाट करिब ३ करोड १५ लाख रुपैयाँ संकलन गरी सम्पर्कविहीन भएका थिए। जसमध्ये बिनोद थापाले मात्रै २६ जना पीडितबाट १ करोड ५० लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
पक्राउ परेकामध्ये सुरज र कमल बहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने अन्य ५ जनालाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।