टोखामा रड प्रहारबाट एकको हत्या, दुई जना पक्राउ
काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-२ चण्डेश्वरीमा फलामको रड प्रहारबाट एक जनाको हत्या भएको छ। हत्याको अभियोगमा दुई जनालाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका अनुसार, पाँचथर घर भई टोखा-२ चण्डेश्वरी बस्दै आएका ४० वर्षीय राम लिम्बुको वादविवादको क्रममा फलामको रड प्रहार गरी हत्या गरिएको हो। रड प्रहारबाट गम्भीर घाइते भएका लिम्बुलाई तत्काल ट्रमा सेन्टर पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको थियो।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले हत्यामा संलग्न उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई पक्राउ गरेको छ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।