गृहमन्त्रीद्वारा प्रहरी महानिरीक्षक थापालाई बिदाइ
२०८२ भदौ १८ गते बुधबार, काठमाडौं।
गृहमन्त्री रमेश लेखकले बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका नेपाल प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापालाई शुभकामना सहित बिदाइ गर्नुभयो।
सो अवसरमा गृहमन्त्री लेखक र गृहसचिव गोकर्णमणि दुवाडीले थापाले आफ्नो कार्यकालमा शान्ति–सुव्यवस्था कायम गर्न उल्लेखनीय योगदान दिएको भन्दै बधाई तथा आगामी जीवनको सफलताको शुभकामना व्यक्त गरे।
बिदाइपछि आइजीपी थापाले नेपाल प्रहरीजस्तो गौरवशाली निकायमा कार्य गर्ने अवसर पाउनु आफूका लागि गर्वको विषय भएको बताउँदै आफ्नो कार्यकालमा इमानदारिता, पारदर्शिता र निष्पक्षतापूर्वक जिम्मेवारी पूरा गरेको उल्लेख गर्नुभयो। साथै नेपाल प्रहरीको आधुनिकिकरण र संस्थागत सुदृढिकरणमा सहयोग पुर्याएको सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अतिरिक्त महानिरीक्षकहरू तथा गृहमन्त्रालयका वरिष्ठ अधिकारीहरूको समेत उपस्थिति थियो।