१० आश्विन २०८३, शनिबार

काठमाडौंमा प्रहरी महानिरीक्षक थापा सहित वरिष्ठ अधिकारीहरूलाई बिदाइ

218

२०८२ भदौ १८ गते बुधबार, काठमाडौं।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज एक विशेष समारोहका बीच तीस वर्षको सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक दिपक थापा, तथा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सुदिप गिरी र टेक बहादुर तामाङलाई बिदाइ गरिएको छ। नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले उहाँहरूलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभयो।

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले आफ्नो सेवा अवधिमा संविधान र कानूनले दिएको जिम्मेवारीलाई पूर्ण इमानदारी, पारदर्शिता र निष्पक्षताका साथ निर्वाह गरेको बताउनुभयो। उहाँले संगठनको संस्थागत विकास, प्रहरी कर्मचारीहरूको वृत्तिविकास, कल्याणकारी सेवा सुविधा विस्तार र प्रहरी कार्यमा प्रविधिको प्रयोग मार्फत संगठनलाई सक्षम, आधुनिक र व्यावसायिक बनाउन सधैं प्रयास गरेको उल्लेख गर्नुभयो। थापाले नवनियुक्त महानिरीक्षक खापुङ साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्व भएको चर्चा गर्दै उहाँको कार्यकालमा संगठनले नयाँ उचाइ लिने विश्वास व्यक्त गर्नुभयो।

समारोहमा प्रहरी महानिरीक्षक थापाले आफ्नो कार्यकालका उल्लेखनीय कार्यहरू समेटिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त महानिरीक्षक खापुङलाई हस्तान्तरण गर्नुभयो। नवनियुक्त महानिरीक्षक खापुङले सेवा निवृत्त हुन लाग्नुभएका अधिकारीहरूलाई बधाई तथा सुखद सेवा निवृत्त जीवनको शुभकामना दिँदै संगठनको श्रीवृद्धिमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो। उहाँले विगतका असल अभ्यासहरूलाई आगामी रणनीतिमा समेटी अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी र टेक बहादुर तामाङले पनि आ-आफ्नो अनुभव सहितको मन्तव्य राख्नुभएको थियो। यसैगरी, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रूपा थापा लगायत संघका पदाधिकारीहरूलाई पनि बिदाइ गरियो। समारोहमा अन्य वरिष्ठ प्रहरी अधिकारी तथा जवानहरूले पनि सेवा निवृत्त हुन लाग्नुभएका अधिकारीहरूलाई शुभकामना सहित बिदाइ गरेका थिए।

Author

Leave A Reply

Your email address will not be published.