उखुको अनुदान घटाएको भन्दै किसान सडकमा, प्रतिक्विन्टल ७० रुपैयाँ नै दिन माग ( तस्बिरहरु)
२०८२ भदौ ०८ गते आईतबार, काठमाडौं ।
सरकारले उखुमा दिँदै आएको अनुदान रकम आधा कटौती गरेपछि तराई–मधेशका सयौं किसानहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले प्रतिक्विन्टल ७० रुपैयाँको अनुदानलाई बजेट अभाव देखाउँदै ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु उत्पादक महासंघको नेतृत्वमा किसानहरू आन्दोलित भएका हुन् ।
आइतबार गौशालाबाट सुरु भएको नारा–जुलुस माइतीघर मण्डला र बानेश्वर चोकमा पुगेर प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शनमा सहभागी किसानहरूले सरकारले निर्धारण गरेको पुरानै अनुदान दर, अर्थात् प्रतिक्विन्टल ७० रुपैयाँ नै तत्काल भुक्तानी गर्नुपर्ने माग राखेका छन् ।
आन्दोलनमा सिराहा, सर्लाही, नवलपरासी लगायतका जिल्लाबाट किसान सहभागी छन् । यस वर्ष किसानहरूले बिक्री गरेको २ करोड १५ लाख क्विन्टल उखुको अनुदानबापत सरकारले करिब १ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कृषि मन्त्रालयले पुरानै अनुदान रकम प्रस्ताव गरे पनि मन्त्रिपरिषद्ले बजेट अभाव देखाउँदै रकम आधा घटाउने निर्णय गरेको थियो, जसलाई किसानहरूले अस्वीकार गर्दै आएका छन् ।




