१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
२०८२ साउन २७ गते मंगलबार, काठमाडौं।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका-२, सिम्ले बस्ने ३० वर्षीय बुद्ध लामा रहेका छन्।
पीडित बालिकालाई लामाले जबरजस्ती करणी गरेको भनी पीडित पक्षबाट उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय, बाह्रबिसेका अनुसार, उजुरी प्राप्त हुनासाथ कार्यालयबाट खटिएको प्रहरी टोलीले लामालाई सोमबार नियन्त्रणमा लिएको हो।
पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ। प्रहरीले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै अनुसन्धान अगाडि बढाएको बताएको छ।