दैलेखमा नाबालिगमाथि सामूहिक बलात्कारको आरोप, दुई युवक पक्राउ
२०८२ साउन २५ गते आइतबार, काठमाडौं।
दैलेखमा १२ वर्षीया एक बालिकामाथि सामूहिक जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ। उक्त जघन्य अपराधमा संलग्न भएको आरोपमा प्रहरीले चामुण्डा बिन्द्रासैनी नगरपालिकाका दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार, पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ बस्ने २५ वर्षीय खगेन्द्र भण्डारी र सोही स्थानका २५ वर्षीय गोपेन्द्र भन्ने गोविन्द बहादुर शाही रहेका छन्। उनीहरूलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।
पीडित बालिकालाई ती दुई युवकले जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले दिएको उजुरीको आधारमा प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो। उजुरी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नाबालिकामाथि भएको यस किसिमको क्रूर घटनाले स्थानीय स्तरमा आक्रोश पैदा गरेको छ