१२ आश्विन २०८३, सोमबार

तेह्रथुममा दर्दनाक घटना: छोराको लठ्ठी प्रहारबाट ८१ वर्षीया आमाको मृत्यु, अभियुक्त पक्राउ

241

२०८२ साउन २५ गते आइतबार, काठमाडौं।

तेह्रथुम जिल्लामा एक छोराले आफ्नै जन्म दिने आमाको हत्या गरेको दर्दनाक घटना सार्वजनिक भएको छ। जिल्लाको लालीगुराँस नगरपालिका-३, मुसाङखेलमा ८१ वर्षीया वृद्धा आमाको हत्या गरेको आरोपमा प्रहरीले उनका छोरालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार, ४५ वर्षीय होम बहादुर खड्काले आफ्नै आमा ८१ वर्षीया गंगामाया खड्कालाई लठ्ठीले प्रहार गरी हत्या गरेको अभियोग लागेको छ। शुक्रबार राति भएको उक्त घटनामा गम्भीर चोट लागेकी गंगामायाको घटनास्थलमै मृत्यु भएको थियो।

स्थानीयले घटनाबारे जानकारी दिएपछि इलाका प्रहरी कार्यालय, बसन्तपुरबाट खटिएको प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेको थियो। प्रहरी टोलीले आमाको हत्यामा संलग्न अभियुक्त होम बहादुर खड्कालाई घटनास्थलबाटै पक्राउ गरेको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ, तर हत्याको कारण भने अझै खुलिसकेको छैन। पक्राउ परेका खड्कालाई हिरासतमा राखी घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जन्म दिने आमामाथि नै छोराले गरेको यस्तो क्रूर र अमानवीय घटनाले सिंगो गाउँ नै स्तब्ध बनेको छ।

Author

Leave A Reply

Your email address will not be published.