आज जनै पूर्णिमा तथा रक्षाबन्धन, देशभर धुमधामका साथ मनाइँदै
२०८२ साउन २४ गते सनिबार, काठमाडौं।
आज श्रावण शुक्ल पूर्णिमा, हिन्दू धर्मावलम्बीहरूले जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर धुमधामका साथ मनाइरहेका छन् । यस दिन तागाधारीहरू (ब्राह्मण, क्षेत्री, वैश्य) ले पुरानो जनै फेरेर नयाँ जनै लगाउने र अन्यले नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।
आज बिहानैदेखि पशुपतिनाथ, कुम्भेश्वर, गोसाइँकुण्ड लगायत देशभरका मठमन्दिर र पवित्र नदी किनारहरूमा स्नान गरी जनै फेर्नेहरूको भीड लागेको छ । वैदिक विधिअनुसार मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) धारण गर्नाले शरीर, मन र वचनलाई शुद्ध बनाउने विश्वास गरिन्छ ।
यसैगरी, आजको दिनलाई रक्षाबन्धन पर्वका रूपमा पनि मनाइन्छ । ब्राह्मण पुरोहितहरूले “येन बद्धो वलीराजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामी रक्षेमाचल माचल ।।” भन्ने मन्त्रोच्चारण गर्दै सबैको दाहिने नाडीमा रक्षासूत्र (डोरो) बाँधिदिने गर्दछन् । यो रक्षासूत्रले मानिसलाई सम्पूर्ण नराम्रा तत्व र भयबाट बचाउँछ भन्ने जनविश्वास छ ।
साथै, दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा राखी बाँधेर उनीहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई सधैं रक्षा गर्ने वचन दिन्छन् ।
यता, नेवार समुदायमा भने आजको दिनलाई ‘क्वाटी पुन्ही’ का रूपमा विशेष महत्वका साथ मनाइन्छ । नौ प्रकारका गेडागुडी (क्वाटी) को पौष्टिक क्वाँसे झोल खाएर यो पर्व मनाउने परम्परा छ । वर्षायामको अन्त्यमा क्वाटी खानाले शरीरमा ऊर्जा प्राप्त हुने र विभिन्न रोगबाट बचिने विश्वास गरिन्छ ।