तीन लाख घुस लिएको आरोपमा रुपन्देहीका वडाध्यक्ष र सहयोगीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
२०८२ साउन १९ गते सोमबार, काठमाडौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडाध्यक्ष जनार्दन यादव र उनका सहयोगी एक व्यवसायीविरुद्ध तीन लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ ।
यादवले वडाभित्रका विभिन्न निर्माण योजनाको भुक्तानी सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेका थिए । उक्त रकम सिद्धार्थनगर नगरपालिका-९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन कुमार पाण्डेयमार्फत लिन लगाउँदा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले दुवैलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा यादवले छठ घाट निर्माण र दुईवटा सडक पीसीसी ढलान योजनाको भुक्तानीका लागि घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
अख्तियारले वडाध्यक्ष यादवमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ३ लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ । घुस रकम लिन सहयोग गरेका पाण्डेयलाई मतियारको भूमिका खेलेको भन्दै मुख्य अभियुक्तसरह नै सजायको माग गरिएको आरोपपत्रमा उल्लेख छ ।