मोरङको पथरीबाट तीन जोर जरायोको सिङसहित दुई जना पक्राउ
२०८२ साउन १९ गते सोमबार, काठमाडौं।
मोरङको पथरीशनिश्चरे नगरपालिकाबाट प्रहरीले संरक्षित वन्यजन्तु जरायोको तीन जोर (६ वटा) सिङसहित दुई जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ पथरीशनिश्चरे-२, सरस्वती टोलबाट सोही ठाउँका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका अनुसार, विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निरज गुरुङको घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा उक्त सिङहरू बरामद गरेको थियो । सिङको अवैध कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङ र राईलाई बरामद गरिएको सिङसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सव डिभिजन वन कार्यालय, पथरीमा बुझाइएको छ ।
नेपालमा जरायो संरक्षित वन्यजन्तुको सूचीमा पर्दछ र यसको अंगको अवैध ओसारपसार, खरिद-बिक्री तथा संग्रह गर्नु दण्डनीय अपराध मानिन्छ ।