१३ आश्विन २०८३, मंगलवार

नक्कली सुन र विदेशी मुद्रा देखाई ठगी गर्ने गिरोहका तीन जना पक्राउ

पीडितलाई सक्कली भन्दै नक्कली सुन दिने र विदेशी मुद्रा सस्तोमा साट्ने भन्दै लुटपाट

220

२०८२ साउन १४ गते बुधबार, काठमाडौं।

नक्कली सुन र विदेशी मुद्राको प्रलोभन देखाई सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१० घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने ४७ वर्षीय बिमल तामाङ र सिन्धुलीकै दुधौली नगरपालिका-१२ घर भई काठमाडौं बुढानिलकण्ठ बस्ने ३९ वर्षीय लाल बहादुर घिसिङ रहेका छन्। प्रहरीले उनीहरूबाट चोरीका गरगहना खरिद गर्ने खोटाङ दिक्तेल मझुवागडी नगरपालिका-१४ घर भई भक्तपुरको लोकन्थलीमा बस्दै आएका ३९ वर्षीय भक्त बहादुर गदाल विकलाई समेत नियन्त्रणमा लिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले दुई फरक तरिकाले ठगी गर्ने गरेको खुलेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसोबास गर्ने ६ जनाभन्दा बढी पीडितलाई नक्कली सुनलाई सक्कली हो भनी विश्वास दिलाई उनीहरूसँग भएको सक्कली सुनका गरगहना र नगद लिएर फरार हुने गरेको पाइएको छ।

त्यस्तै, उनीहरूले आफूसँग साउदी रियाल लगायत अन्य देशका मुद्राहरू रहेको र बजार मूल्यभन्दा निकै सस्तोमा साटिदिने भन्दै प्रलोभन देखाउने गर्थे। जब पीडितहरू सटही गर्नका लागि नेपाली रुपैयाँ लिएर आउँथे, उनीहरूले सो रकम लुटेर भाग्ने गरेको समेत अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट सुन जस्तो देखिने १७ ग्राम ६ सय मिलिग्रामको पहेंलो धातु, ठगी गर्न प्रयोग भएको ४ थान नक्कली सुनको ढिक्का र अपराधमा प्रयोग भएको ना. ५७ प १५१६ नम्बरको स्कुटर समेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.