१४ आश्विन २०८३, बुधबार

अब घरबाटै ट्राफिक सचेतना कक्षा, गृहमन्त्रीद्वारा अनलाइन प्रणालीको शुभारम्भ

211

२०८२ असार ३० गते सोमबार, काठमाडौं।

गृहमन्त्री रमेश लेखकले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा ‘अनलाइन ट्राफिक सचेतना कक्षा’ को शुभारम्भ गर्नुभएको छ। योसँगै अब ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूले भौतिक रूपमा ट्राफिक कार्यालयमा उपस्थित नभई ‘नागरिक एप’ मार्फत अनलाइन नै सचेतना कक्षा लिन सक्ने भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरीले आफ्नो सेवामा नयाँ प्रविधिको प्रयोग गर्नु सराहनीय भएको बताउनुभयो। उहाँले यसलाई प्रहरीको प्रविधि प्रयोगमा एक नयाँ आयाम थपिएको भन्दै यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। “प्रविधिको प्रयोगले कहिलेकाहीँ जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले थप सचेत भई ट्राफिक व्यवस्थापन गर्नुपर्छ,” उहाँले भन्नुभयो।

सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नागरिकको सेवा र सुरक्षाका लागि प्रविधिको प्रयोगलाई संगठनले प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले अनलाइन कक्षाले सेवाग्राहीलाई सहज बनाउने विश्वास व्यक्त गर्दै यसको दुरुपयोग हुन नदिन सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा ट्राफिक प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन योगदान पुर्‍याएका ‘ट्रिलिफ टेक्नोलोजी’ र ‘ज्ञानबजार प्रालि’ लाई प्रशंसापत्र प्रदान गरिएको थियो।

Author

Leave A Reply

Your email address will not be published.