प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो भदौ ५ यताका प्रमुख उपलब्धि
काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ५ गतेयताका प्रमुख उपलब्धि सार्वजनिक गर्दै आजदेखि नियमित मिडिया ब्रिफिङ पुनः सुरु गरेको छ।
कार्यालयका अनुसार यस अवधिमा प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै भोटेकोशी बाढी र जलवायु संकटबारे नेपालको धारणा राख्नुभएको छ। यस्तै, विपद् व्यवस्थापन, चाडपर्व तथा मनसुनलाई लक्षित पूर्वतयारी, बजार अनुगमन, विकास व्यवस्थापन र शासकीय सुधारका विषयमा विभिन्न निर्णय तथा समीक्षा भएका छन्।
यस अवधिमा मन्त्रिपरिषद्ले सरकारी निर्णय प्रक्रियालाई सरल, पारदर्शी, डिजिटल तथा कागजरहित बनाउने उद्देश्यसहित ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १६ अर्ब २८ करोड रुपैयाँभन्दा बढी जम्मा भएको र त्यसमध्ये १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा गरिएको कार्यालयले जनाएको छ।
यस्तै, हेलो सरकारमा प्राप्त १७ हजार ३९७ गुनासामध्ये ६ हजार ८३७ फछ्र्यौट र ७ हजार ८१८ वटा समाधान गरिएको तथा विभिन्न १५ फर्म तथा कम्पनीलाई कालोसूचीमा राखिएको जानकारी दिइएको छ।