त्रिभुवन विमानस्थलबाट ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
काठमाडौँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध गाँजासहित ८ जना विदेशी नागरिक पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो (गौचर शाखा) बाट खटिएको प्रहरी टोलीले उनीहरूलाई कुल ३९ किलो २ सय ८८ ग्राम गाँजासहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा ५ जना म्यानमारका र ३ जना भारतीय नागरिक रहेका छन् ।
म्यानमारका नागरिकहरू:
थाई एयरवेजको उडानमार्फत बैंककबाट काठमाडौँ आएका २३ वर्षीय जार नी लिन (ZAR NI LIN), २३ वर्षीया ई ई थ्वे (EI EI THWE), ३९ वर्षीय आङ ब्वार (AUNG BWAR), ३२ वर्षीया छु म्याथवाल सेन (CHUE MYATTHWAL SHEIN) र ३२ वर्षीय जिन म्यो आङ (ZIN MYO AUNG) पक्राउ परेका हुन् ।
भारतीय नागरिकहरू:
बाटिक एयरको उडानमार्फत फुकेटबाट काठमाडौँ ओर्लिएका भारत पञ्जाबका २३ वर्षीय खुशदीप (KHUSDEEP), ३२ वर्षीय गुरदीप सिंह (GURDEEP SINGH) र २६ वर्षीया कामिनी (KAMINI) रहेका छन् ।
विमानस्थलमा नियमित जाँचका क्रममा उनीहरूको साथबाट ठुलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । पक्राउ परेका सबैलाई थप कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा राखिएको प्रहरीले जनाएको छ ।