३१ भाद्र २०८३, बुधबार

बैंकको केवाईसी अपडेट गर्ने बहानामा ठगी गर्ने ४ जना पक्राउ, कर्मचारीहरूलाई बनाउँथे निसाना

32

काठमाडौँ ।
बैंकबाट बोलेको र केवाईसी (KYC) अपडेट गर्नुपर्ने बहाना बनाएर ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले चितवनबाट उनीहरूलाई आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बाराका २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमका २२ वर्षीय जय कुमार केवट, सोही ठाउँका २२ वर्षीय विद्या सागर केवट र पर्साका २७ वर्षीय कुवेर थापा रहेका छन्।

यसरी गर्थे ठगी:
प्रहरीका अनुसार यो गिरोहले विशेषगरी बहालवाला तथा सेवानिवृत्त सरकारी कर्मचारीहरूलाई निसाना बनाउने गरेको थियो। उनीहरूले ह्वाट्स एप वा फोनमार्फत ‘बैंकबाट बोलेको’ भन्दै केवाईसी अपडेट गर्नुपर्ने विश्वास दिलाउँथे। त्यसपछि उनीहरूले सेवाग्राहीलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउने वा झुक्याएर ओटिपि (OTP) कोड माग्ने गर्दथे।

ओटिपि कोड प्राप्त भएपछि उनीहरूले सम्बन्धित व्यक्तिको बैंक खातामा अनधिकृत पहुँच पुर्‍याई रकम अन्य खातामा रकमान्तर गरेर ठगी गर्ने गरेको ब्यूरोले जनाएको छ।

कानुनी कारबाही:
पक्राउ परेका चारै जनालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको अनधिकृत पहुँच र विद्युतीय माध्यम सम्बन्धी ठगी कसुरमा मुद्दा चलाइएको छ। जिल्ला अदालत काठमाडौँबाट ५ दिनको म्याद थप गरी उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले अपरिचित व्यक्तिलाई आफ्नो ओटिपि कोड नदिन र शङ्कास्पद लिङ्क वा स्क्रिन सेयर नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।

Author

Leave A Reply

Your email address will not be published.