काभ्रेको खानीखोलामा जिप दुर्घटना: दुईको मृत्यु, तीन गम्भीर घाइते
काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा सोमबार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
पनौती–तालढुंगा सडकखण्डमा जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो । मृत्यु हुनेमा खानीखोलाका कलबबहादुर माझी र पातलीमाया मोक्तान रहेका छन् । जिपका अर्का सवार ताराबहादुर माझीले भने हाम फालेर ज्यान जोगाएका छन् ।
जिपको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । गम्भीर घाइतेहरूको उद्धारका लागि हेलिकप्टर मगाउने समन्वय भइरहेको र प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।