काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाकी एक युवतीद्वारा काठमाडौँको माकलबारीमा आत्मदाह प्रयास
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८, माकलबारीमा एक २७ वर्षीया युवतीले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन् ।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई हाल माकलबारीमा खाजा पसल सञ्चालन गर्दै आएकी सालु गुरुङले सोमबार राति आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गुरुङले आफ्नै खाजा पसलको पछाडि पार्किङ गर्ने ठाउँमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई जलेको अवस्थामा श्रीमानले फेला पारेका थिए ।
गम्भीर घाइते भएकी गुरुङलाई तत्काल उपचारका लागि साखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।
चिकित्सकका अनुसार गुरुङको अनुहार, छाती र दुवै हात गरी शरीरको करिब ५० प्रतिशत भाग जलेको छ । उनको अवस्था गम्भीर रहे पनि उनी सामान्य बोल्न सक्ने स्थितिमा रहेको बताइएको छ । युवतीले किन आत्मदाहको प्रयास गरिन् भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।