सञ्चारगृह बाहिरका शंकास्पद गतिविधिप्रति रास्वपाको ध्यानाकर्षण: तत्काल छानबिन गर्न माग
काठमाडौँ, २९ असार । विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मीहरूलाई मनोवैज्ञानिक दबाबमा राख्ने र त्रसित बनाउने यस्ता गतिविधिलाई लोकतान्त्रिक मूल्य–मान्यताको ठाडो उल्लंघन भन्दै भर्त्सना गर्नुभएको छ। रास्वपाले पूर्ण प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुन पाउने अधिकारको पक्षमा आफ्नो दृढ प्रतिबद्धता दोहोऱ्याएको छ।
विज्ञप्तिमा भनिएको छ, “कुनै पनि बहानामा सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने कार्य किमार्थ स्वीकार्य छैन।” रास्वपाले यी शंकास्पद घटनाहरूको तत्काल र निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र सञ्चार गृहहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ। साथै, रास्वपाले सम्पूर्ण सञ्चार जगत्लाई कुनै पनि दबाबमा नपरी निर्भीक रूपमा सत्यतथ्य समाचार सम्प्रेषण गर्न अपिलसमेत गरेको छ।
