चितवनमा कृषि मन्त्री गीता चौधरीको छड्के अनुगमन: किसानका समस्या सुन्दै दिइन् निर्देशन
चितवन: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले शनिबार चितवनका विभिन्न गाउँ र कृषि क्षेत्रको छड्के अनुगमन गर्नुभएको छ। मुख्य सिजनमा किसानले मल, बीउ र कृषि सामग्री सहजै पाए/नपाएको तथा बजारमा कालोबजारी भए/नभएको बुझ्न मन्त्री चौधरी आफैँ खेतबारीमा पुग्नुभएको हो।
अनुगमनका क्रममा किसानसँग प्रत्यक्ष संवाद गर्दै उहाँले धान खेतीको अवस्था, उत्पादन लागत र सिँचाइका समस्याबारे जानकारी लिनुभयो। मन्त्री चौधरीले देखिएका समस्या तत्काल समाधान गर्न सम्बन्धित सरकारी अधिकारीहरूलाई टेलिफोनमार्फत निर्देशन दिनुभएको छ।
उहाँले बजारमा कृत्रिम अभाव सिर्जना गर्ने वा मूल्यवृद्धि गर्नेलाई कानुनी कारबाही गर्ने चेतावनी दिँदै त्यस्ता गतिविधि देखिए मन्त्रालयको हटलाइनमा उजुरी गर्न किसानहरूलाई आग्रह गर्नुभयो। किसानको हितविपरीत काम गर्ने जोकोहीलाई सरकारले नछोड्ने र ‘शून्य सहनशीलता’ अपनाउने उहाँको भनाइ छ।