३१ भाद्र २०८३, बुधबार

सार्वजनिक सञ्चारमाध्यममा जथाभावी करार भर्ना नगर्न सञ्चारमन्त्रीको निर्देशन

30

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस) मा अत्यावश्यक बाहेक करारमा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ । सार्वजनिक सञ्चारमाध्यमलाई ‘राजनीतिक भर्ती केन्द्र’ बनाउने प्रवृत्ति अन्त्य गर्दै कर्मचारी व्यवस्थापनलाई कानुनी, पारदर्शी र प्रतिस्पर्धामूलक बनाउन मन्त्रीले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री तिमिल्सिनाले अबदेखि कर्मचारी भर्ना गर्दा संस्थाको ऐन र विनियमावली अनुसार खुला प्रतिस्पर्धाका आधारमा मात्र गर्नुपर्ने बताउनुभयो । विगतमा कुनै कानुनी आधार र नियुक्तिपत्र विना नै ‘तोक आदेश’ का भरमा कर्मचारी भर्ती गर्दा संस्थाहरूमा आर्थिक भार र सुशासनको समस्या देखिएको मन्त्रालयको निष्कर्ष छ ।

हाल गोरखापत्र संस्थानमा १७५ जना, नेपाल टेलिभिजनमा १३४ जना र रेडियो नेपालमा २२२ जना करार कर्मचारी कार्यरत छन् । गोरखापत्रका महाप्रबन्धक हिक्मतबहादुर रावलले विगतको मनोमानी ढङ्गको भर्ती अन्त्य गरी अब संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षण गरेर मात्र आवश्यक र योग्य जनशक्ति राखिने प्रतिबद्धता जनाउनुभयो । यस्तै, राससले पनि नयाँ स्टिङ्गर नियुक्तिका लागि खुला प्रतिस्पर्धाको तयारी थालेको जानकारी दिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.