सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु: अशक्त र ज्येष्ठ नागरिकलाई सेवा लिन सहज हुने
काठमाडौँ: सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा सेवा लिन आउने अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि अब आवागमन सहज हुने भएको छ। सरकारले सिंहदरबार परिसरभित्र ह्वीलचियर र सहयोगका लागि सहजकर्ता (Facilitator) को व्यवस्था सुरु गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच मुख्यसचिव सुमनराज अर्यालले यो सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन र प्रचलित कानुनले निर्दिष्ट गरेको अधिकारलाई पूर्ण रूपमा पालना गर्दै सरकारले यो कदम चालेको हो।
सेवाको उद्घाटन गर्दै मुख्यसचिव अर्यालले अब शारीरिक अवस्थाका कारण कुनै पनि सेवाग्राही वा कर्मचारीले सिंहदरबारभित्र असहजता महसुस गर्न नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। “सिंहदरबारका अधिकांश कार्यालयहरू अपाङ्गमैत्री बनिसकेका छन् र बाँकी रहेका संरचनालाई पनि चाँडै सुधार गरिनेछ,” उहाँले भन्नुभयो, “विगतमा अशक्त नागरिक र कर्मचारीले भोग्नुपरेको कठिनाइलाई हामीले क्रमशः अन्त्य गर्दै लगिरहेका छौँ।”
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र त्यहाँ कार्यरत कर्मचारी दुवैलाई कार्यालय परिसरबाट सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित रूपमा पुर्याउन प्रत्येक ह्वीलचियरका साथमा एक जना कर्मचारी (सहजकर्ता) खटिनेछन्। ती सहजकर्ताले सेवाग्राहीलाई आवश्यक सबै सहयोग उपलब्ध गराउनेछन्।
सरकारले यो व्यवस्थालाई दीर्घकालीन रूपमा निरन्तरता दिने र आगामी दिनमा सिंहदरबार बाहिरका देशभरका अन्य सरकारी निकायहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ। यस सुरुवातसँगै सरकारी सेवा प्रवाह थप समावेशी र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।