शिक्षा मन्त्री र एडीबी अध्यक्षद्वारा शिक्षकहरूका लागि ‘एआई लिट्रेसी’ तालिमको शुभारम्भ
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले काठमाडौँको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गर्नुभएको छ।
शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान र डिजिटल दक्षता प्रदान गर्ने उद्देश्यले यो तालिम सुरु गरिएको हो। एडीबी र शिक्षा मन्त्रालयको प्राविधिक सहकार्यमा विकसित यो तालिम अनलाइन तथा स्व–अध्ययन (सेल्फ–लर्निङ) मा आधारित हुनेछ।
शुभारम्भका क्रममा मन्त्री पोखरेल र अध्यक्ष कान्डाले एडीबीको सहयोगमा पुनर्निर्माण गरिएका विद्यालय भवन, विज्ञान प्रयोगशाला र स्मार्ट कक्षाकोठाको समेत अवलोकन गर्नुभयो। सो अवसरमा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले विगत पाँच दशकदेखि पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा डिजिटल रूपान्तरण र प्राविधिक शिक्षामा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो।
एडीबी नेपालको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख साझेदारका रूपमा विद्यालय पूर्वाधार र शैक्षिक सुधारका कार्यक्रममा क्रियाशील रहँदै आएको छ।