न्यायालयमा नयाँ युगको सुरुवात: सर्वाधिक मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीशमा सिफारिस
सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाहरूको चाप कम गरी न्याय सम्पादनलाई तिव्रता दिने उद्देश्यका साथ संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको परिषद्को बैठकले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र कार्यसम्पादनमा उत्कृष्ट रेकर्ड कायम गरेका डा. शर्मालाई न्यायालयको सर्वोच्च जिम्मेवारी सुम्पिने निर्णय गरेको हो।
मुद्दा फछ्र्यौटमा कीर्तिमानी रेकर्ड
न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) को अवधिमा भएको वस्तुगत मूल्याङ्कनमा डा. शर्मा आफ्ना समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिनुभएको छ। सर्वोच्च अदालतको तथ्याङ्क अनुसार, प्रधानन्यायाधीशका लागि प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्माले हालसम्म ७ हजार ३ सय ८८ मुद्दा र निवेदनहरूको अन्तिम टुङ्गो लगाउनुभएको छ। ७ हजारको आँकडा पार गर्ने उहाँ एक्लो न्यायाधीश हुनुहुन्छ।
पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै उहाँले २ हजार १८१ वटा मुद्दा किनारा लगाउनुभएको छ। न्याय सम्पादनमा उहाँको यो सक्रियता र गतिलाई न्यायालयभित्र निकै उत्साहका साथ हेरिएको छ।
बौद्धिक र गतिशील नेतृत्व
कानुनमा विद्यावारिधि गर्नुभएका डा. शर्माको सिफारिससँगै नेपालको न्यायपालिकाले पहिलो पटक ‘डाक्टर’ उपाधि प्राप्त प्रधानन्यायाधीश पाउने भएको छ। उहाँको प्राज्ञिक दखल र मुद्दा फछ्र्यौटको उच्च क्षमताले गर्दा सर्वोच्च अदालतमा थुप्रिएका हजारौँ मुद्दाहरूको बोझ कम हुने विश्वास गरिएको छ।
न्याय सम्पादनमा गतिशीलता प्रदान गर्न र आम नागरिकमा न्यायको अनुभूति छिटो गराउन डा. शर्माको नेतृत्व कोशेढुङ्गा सावित हुने अपेक्षा परिषद्ले राखेको छ। अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले उहाँलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ।