३ आश्विन २०८३, शनिबार

राप्रपाका केन्द्रीय सदस्य रवि किरण हमालले दिए राजीनामा, पार्टीबाट पूर्ण रूपमा अलग भएको घोषणा

113

काठमाडौं, ११ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा ‘जेनजी’ (Gen Z) आन्दोलनका अगुवा रवि किरण हमालले पार्टीबाट राजीनामा दिएका छन्। लोकतन्त्र दिवसको अवसर पारेर मंगलबार एक प्रेस वक्तव्य जारी गर्दै हमालले पार्टीको केन्द्रीय सदस्यसहित साधारण सदस्यबाट समेत पूर्ण रूपमा अलग भएको घोषणा गरेका हुन्।

पछिल्लो एक दशकदेखि सुशासन, सुसंस्कृत राजनीति र राजनीतिक स्थायित्वका लागि सक्रिय हमालले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर युवा पुस्ताको भावनालाई कदर गर्दै यो निर्णय लिएको बताएका छन्।

जनताको भावना र ‘जेनजी’ आन्दोलनको सम्मान
प्रेस वक्तव्यमा हमालले आफू ‘जेनजी’ आन्दोलनका क्रममा गोली खान तयार भएको, भाद्र २३ गते पक्राउ परेको र वैचारिक आधारमा थुप्रै अवमूल्यन सहनुपरेको स्मरण गरेका छन्। उनले गत प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दा जनस्तरबाट प्राप्त सुझाव र आफ्नो पुस्ताको परिवर्तनको तीव्र चाहनालाई आत्मसात् गर्दै राजनीतिमा नयाँ बाटो रोज्ने संकेत गरेका हुन्।

“मेरो पुस्ताका युवाहरूको भावना, ऊर्जा र सपनालाई हृदयङ्गम गर्दै यो यात्रामा होमिएको थिएँ,” हमालले वक्तव्यमा भनेका छन्, “यो निर्णय कुनै निराशा वा असन्तुष्टिको परिणाम नभई जनता र मेरो पुस्ताको आकांक्षालाई स्वीकार गर्दै लिइएको एक सचेत कदम हो।”

अबको बाटो: सुशासन र आर्थिक उन्नति
राजीनामा दिए पनि राष्ट्र र जनताको सेवामा आफ्नो सक्रियता कम नहुने हमालले प्रस्ट पारेका छन्। आगामी दिनमा झन् दृढ संकल्प र ऊर्जाका साथ भ्रष्टाचारमुक्त शासन व्यवस्था, तीव्र आर्थिक उन्नति र सुशासनका लागि अग्रपंक्तिमा रहेर लड्ने उनले प्रतिबद्धता जनाएका छन्।

उनले ‘जेनजी’ आन्दोलनको साहस र निष्पक्षतालाई राजनीति र राजकाजमा व्यवहारिक रूपमा लागू गर्न आफू सदैव क्रियाशील रहने बताएका छन्।

पार्टी नेतृत्वलाई धन्यवाद
राजीनामा घोषणाकै क्रममा हमालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र सम्पूर्ण पार्टी पंक्तिले आफूलाई देखाएको स्नेह, विश्वास र साथका लागि हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

रवि किरण हमाल युवाहरूमाझ लोकप्रिय नेता मानिन्छन्। सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका उनी राप्रपाभित्र स्पष्ट वक्ता र जुझारु युवा पहिचान बनाएका नेता हुन्।

Author

Leave A Reply

Your email address will not be published.