जर्जिया पठाइदिन्छु भन्दै साढे ६ लाख ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौँ। वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई जर्जिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको महाभारत गाउँपालिका-६ घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने ५२ वर्षीय पूर्ण बहादुर वाईवा रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मंगलबार कागेश्वरी मनोहराबाट पक्राउ गरेको हो।
वाईवाले एक जना पीडितलाई जर्जिया पठाउने आश्वासन दिएर पटक-पटक गरी ६ लाख ५० हजार रूपैयाँ लिएको र रकम लिएपछि सम्पर्कविहीन भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका वाईवालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ।