फर्पिङबाट ९ किलो गाँजासहित मकवानपुरका एक जना पक्राउ
काठमाडौँ। काठमाडौँको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-८ डट्खोला बस्ने ४१ वर्षीय श्याम पाख्रिन रहेका छन्। सोमबार दिउँसो इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०६१२ नम्बरको ईभी (विद्युतीय) गाडीलाई फर्पिङमा जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो। गाडीमा सवार पाख्रिनको साथबाट करिब ९ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाख्रिनमाथि लागूऔषध नियन्त्रण ऐन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।