गृहमन्त्री अर्यालद्वारा भक्तपुरमा निर्वाचन तयारी र बाल सुधार गृहको अनुगमन
गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार भक्तपुरको भ्रमण गरी आसन्न निर्वाचनको तयारी र बाल सुधार गृहको वस्तुस्थितिबारे जानकारी लिनुभएको छ।
गृह सचिव राजकुमार श्रेष्ठसहितको टोली लिएर भक्तपुर पुग्नुभएका मन्त्री अर्यालले निर्वाचन क्षेत्र नम्बर १ र २ का मुख्य निर्वाचन अधिकृतहरूसँग भेटघाट गर्नुभयो। सो क्रममा उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न निर्देशन दिनुभयो। मन्त्री अर्यालले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्था र प्रशासनिक तयारीबारे समेत चासो राख्नुभएको थियो।
त्यसैगरी, मन्त्री अर्यालले गत माघ ८ गते आगजनी र तोडफोड भएको सानोठिमीस्थित बाल सुधार गृहको स्थलगत अनुगमन गर्नुभएको छ। उक्त घटनापछि त्यहाँ रहेका १८ वर्षमाथिका बाल बिज्याइँकर्ताहरूलाई नुवाकोटको कारागारमा स्थानान्तरण गरिसकिएको छ। मन्त्री अर्यालले सुधार गृहको वर्तमान अवस्था र सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी लिनुभएको हो।